कतारमा २१ नेपाली - TopicsExpress



          

कतारमा २१ नेपाली कम्पनीबाट निकालिए, खानाको पैसा माग्दा उल्टै कुटिए: ७ साउन, दोहा ।वैदेशिक रोजगारका क्रममा कतारमा रहेका २१ नेपाली कामदारलाई कम्पनीले तलब र खानाका लागि रकमसमेत नदिएपछि शरण माग्दै आइतबार नेपाली दूतावासमा आइपुगेका छन् । कतारको गल्फ रियल स्टेट कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कपिलले पिट्ने, धम्काउने गरेको र हप्तौंदेखि खाना नपाएको बताएका छन् । ‘हामीलाई क्याम्प बोसले बस्नसमेत दिएनन्,’ दूतावास आइपुगेका गोरखाका रणबहादुर आलेले भने, ‘एक हप्ताअघिबाट निस्की भनिरहेका थिए । तनाब थेग्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौं । अब हाम्रो एकमात्र भरोसा दूतावास हो ।’ पीडितहरूले खाना नपाएर भोकभोकै बस्नुनपर्ने बताए । ‘दुई दिनदेखि पानी मात्रै पिएको छु,’ रोल्पाका तिलक बुढा मगरले भने, ‘कपिलको अनुरोधमा हाम्रो खाता बन्द गरिएको छ । साथमा पैसा छैन ।’ उनीहरूले जनवरीयता तलबसमेत पाएका छैनन् । ‘मैले ९ महिनायता तलब पाएको छैन,’ १६ महिनाअघि कतार आएका धरानका रमेश विकले भने, ‘तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।’ अधिकांशले कतार बस्न अनुमति (आईडी) नपाएकाले गैरकानुनी हैसियतमा छन् । आईडी कार्ड नहुँदा अगस्टमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको उनले बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘मेरो गाउँले महेन्द्रकुमार लिम्बु र दाबा शेर्पा दुई महिनादेखि नै जेलमा छन्’, ताप्लेजुङका श्रीमान् सान्वा लिम्बुले भने, ‘आईडी नहुनु हाम्रो के दोष थियो र ?’ सबै कामदारले आफूहरूलाई यथासक्य छिटो घर पठाइदिन अपिल गरेका छन् । उनीहरू काठमाडौंस्थित स्काई-वे म्यानेज्मेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनल लगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीमा निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब ६ देखि ८ सय तोकिएको छ । ‘मैले ९० हजार रुपैयाँ तिरेर आएको थिएँ,’ सुकरौला, रूपन्द्रेहीका सारज उदिन सामातले भने, ‘कमाउन आएका मान्छे यता आफैं अलपत्र परियो । उता घरबाट पसलेले खाद्यान्न नदिएको खबर आउँछ, यता आफू अलपत्र परेको छु ।’ नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले उनीहरूको समस्या समाधान गर्न प्रयास भइरहेको बताएका छन् । ‘आईडी कार्ड नभएकाले तुरुन्तै घर पठाउन गाह्रो हुनेछ,’ उनले भने, ‘महिनाभन्दा बढी लाग्ने भएकाले उनीहरूको बसोबासबारे छलफल भइरहेको छ ।’
Posted on: Mon, 22 Jul 2013 03:05:48 +0000

Trending Topics



La

Recently Viewed Topics




© 2015