ध्यान दिऔं ट्याब्लेट - TopicsExpress



          

ध्यान दिऔं ट्याब्लेट किन्दा ट्याब्लेट, आम प्रयोगको कम्प्युटर उपकरण बनिसकेको छ यो। विशेष गरेर इन्टरनेट चलाउन, अध्ययन र मनोरञ्जनका लागि यो निक्कै उपयोगी ग्याजेट साबित भएको छ। लोडसेडिङको मार भोग्न बाध्य नेपालीका लागि यो ल्यापटप र कम्प्युटरको बिकल्प पनि हो। बालबालिकका लागि डिजिटल अध्ययनको माध्यमका रुपमा पनि यसलाई लिन सकिन्छ। भारत सहित विश्वका धेरै मुलुकले बालबालिकाको प्राथमिक शिक्षामा नै ट्याब्लेटलाई समावेस गरेका छन्। जसमा बालबालिकाहरु विभिन्न एपहरुको सहायताले आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छन्। बालबालिका देखी पाको उमेरका सम्मले कम्प्युटरको बिकल्पको रुपमा पनि यसलाई लिन सक्छन्। त्यसैले यतिखेर बजारमा ट्याब्लेटको माग बढिरहेको छ। त्यसो त विश्वप्रसिद्ध ब्राण्ड देखी भारतीय र चिनियाँ ब्राण्डका ट्याब्लेट सस्तो मुल्यमा नै नेपालमा उपलब्ध भइसकेका छन्। आम आवश्यकता बनिसकेको यो उपकरण जति अनिवार्य छ त्यो भन्दा बढि अनिवार्य छ यसको खरिदमा ध्यान दिनु। तपाइँ ट्याब्लेट किन्न जाँदै हुनुहुन्छ वा ट्याब्लेट खरिदको योजना बनाउँदै हुनुहुन्छ भने तपाइँले यी कुरामा ध्यान दिनुपर्छ। कत्तिको आवश्यक छ ट्याब्लेट किन्नु भन्दा अगाडि ध्यान दिनुपर्ने पहिलो कुरा हो तपाइँलाई ट्याब्लेट कति आवश्यक छ- यदी तपाइँसँग ल्यापटप र स्मार्टफोन छ भने तपाइँलाई यो जरुरी छैन कि ट्याब्लेट किनौं। ट्याब्लेट किन्नु अगाडि यो कत्तिको जरुरी छ भन्ने सोचेर मात्र किन्नुपर्छ। ट्याब्लेटमा फोन गर्ने सुविधा नभएकाले यो स्मार्टफोनको बिकल्प भने बन्न सक्दैन। स्मार्टफोनमा भन्दा ठूलो स्क्रिन भएकाले यसमा इमेल हेर्न, इन्टरनेट चलाउन, सिनेमा हेर्न साथै गीत र गेमका लागि यो राम्रो अनुभव दिने चाहिँ हुन्छ। अपरेटिङ सिस्टम ट्याब्लेट किन्दा सबैभन्दा महत्वपूर्ण र ध्यान दिनुपर्ने कुरा यसको अपरेटिङ सिस्टम हो। जसले गर्दा तपाइँले प्रयोग गर्ने सुविधाहरुमा पनि फरक पर्न सक्छ। यतिखेर बजारमा एप्पलको आइओएस, गुगलको एण्ड्रोइड, रिर्सच इन मोसनको ब्ल्याकबेरी, माइक्रोसफ्टको वीण्डोज ८ लगायतका अपरेटिङ सिस्टम भएका ट्याब्लेटहरु उपलब्ध छन्। केही चिनियाँ ट्याब्लेटमा यी बाहेकका अपरेटिङ सिस्टम पनि भएको पाउन सकिन्छ। यी अपरेटिङ सिस्टम मध्ये लोकप्रिय चाहिँ एण्ड्रोइड हो। यसमा सित्रैमा पाउने सुविधाहरु पनि धेरै छन् भने यो अपरेटि सिस्टम भएका ट्याब्लेटहरु सस्तो मुल्यमा पाउन सकिन्छ। आइप्याडमा मात्र आइओएस प्रयोग भइरहेको छ जुन अरुको तुलनामा महँगो पनि छ। प्रोसेसर र रयाम ट्याब्लेट किन्दा अपरेटि सिस्टमका साथै अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो प्रोसेसर र रयाम। यी दुवैको क्षमताले नै ट्याब्लेटलाई ढिलो वा छिटो बनाउने भएकाले किन्नु अघि प्रोसेसर कति गीगाहर्जको र रयाम कति जीबी भन्नेमा ध्यान दिनुपर्छ। यी दुवैको क्षमताले नै ट्याब्लेटको काम गर्ने क्षमता निर्धारण गर्छ। स्क्रिनको आकार बजारमा ७ देखी १० इन्चसम्मको स्क्रिन आकार भएका ट्याब्लेटहरु उपलब्ध छन्। तपाइँको प्रयोगलाई आधार मानेर कुन स्क्रिन आकारको ट्याब्लेट किन्ने भन्ने निर्णय गर्नुपर्छ। यदी तपाइँ इमेल इन्टरनेट र मनोरञ्जनका लागि ट्याब्लेट किन्दै हुनुहुन्छ भने १० इन्चको स्क्रिन भएका ट्याब्लेट सही हुन्छन्। किनकी तीनमा गीत, सिनेमा र गेमको अनुभव राम्रो हुन्छ। अध्ययन र यात्रामा पनि प्रयोग गर्ने हो भने ७ इन्चको पनि उपयुक्त नै हुन्छ। ब्राण्ड ट्याब्लेट मात्र नभएर जुनसुकै पनि ग्याजेट खरिद गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको ब्राण्ड पनि हो। ब्राण्डले नै उत्पादनले बिश्वास र बजार बनाउने भएकाले कम्पनीहरुले ब्राण्डलाई स्थापित गराउनका लागि गुणस्तरिय सामान प्रयोग गर्ने भएकाले प्रसिद्ध तथा चलेको ब्राण्डको ट्याब्लेट छनौट गर्नुपर्दछ। राम्रा र विश्वविख्यात ब्राण्ड मध्ये पनि कसले सस्तोमा धेरै सुविधा युक्त ट्याब्लेट दिएको छ हेर्नुपर्छ। नेपालमा धेरै जसो भारतीय ब्राण्डका रुपमा चिनियाँ सामान प्रयोग भएका ट्याब्लेटले अपरेटिङ सिस्टमलाई जोड दिएर उत्पादनको प्रचार गरिरहेका हुन्छन्। यस्तोमा याद गर्नुपर्ने कुरा एण्ड्रोइड हैन कि हार्डबेयरको ब्राण्ड हो। सस्तो पाएँ भन्दैमा जुनसुकै पनि ब्राण्ड खरिद गर्नु हुँदैन। कनेक्टीभीटी ट्याब्लेट किन्दा ध्यान दिनुपर्ने अर्को कुरा हो कनेक्टीभीटी। ट्याब्लेटमा कनेक्टीभीटीका लागि के के सुविधा छन्। आम रुपमा यतिखेर ट्याब्लेटमा थ्रीजी, वाइफाइ, यूएसबी डोंगल लगायतका सुविधा उपलब्ध छन्। इनपुट र आउटपुटका लागि यूएसबी, ३.५ एमएमको हेडफोन ज्याक, माइक्रो यूएसबी, एचडीएमआइ लगायतका सुविधा हुन्छन्। तपाइँले लिन लागेको ट्याब्लेटमा यस्ता सुविधा छन् या छैनन् भन्नेमा पनि ध्यान दिनुपर्छ। मेमोरी र एप्स ट्याब्लेट किन्दा अर्को ध्यान दिएर सोध्नुपर्ने वा बुझ्नुपर्ने कुरा हो मेमारी। ट्याब्लेटमा आन्तरिक मेमोरी कति छ र मेमोरी स्लटको माध्यमबाट त्यसको क्षमता बढाउन सकिन्छ या सकिन्न? त्यसबारे जानकार हुनु आवश्यक हुन्छ।त्यसो त ट्याब्लेटमा चलाउन सकिने वा पहिले नै लोड भएर आएका एप्सका बारेमा पनि पनि थाहा पाउनुपर्छ। यसले ट्याब्लेटको प्रयोगमा समेत प्रभाव पार्छ। ब्याकअप ट्याब्लेट यात्रा वा घर भित्र अनि बाहिर जहाँ चलाएपनि यसको मुख्य सम्बन्ध जोडिएको हुन्छ यसले दिने ब्याकअपसँग। ब्याकअप अर्थात् ब्याट्रीको क्षमता। ट्याब्लेट किन्दा त्यसको प्राविधिक विवरण हेर्दा ब्याट्रीको क्षमतामा ध्यान दिनुहोला। ब्याट्रीको क्षमता एमएएचले जनाउने भएकाले जति धेरै एमएएचको ब्याट्री हुन्छ तपाइँले पाउने ब्याकअप पनि धेरै हुन्छ। धेरै घरबाहिर हुने वा यात्रामा हुने व्यक्तिका लागि ४००० एमएएचको ब्याट्री भएको उपयुक्त हुनसक्छ। बजारमा २२०० भन्दा बढी एमएएचको ब्याट्री भएका ट्याब्लेट धेरै ब्राण्ड र कम मुल्यमा पनि उपलब्ध छन्। मूल्य ट्याब्लेटको प्राविधिक पक्ष पछि सबै भन्दा अन्तिममा आउँछ मूल्यको कुरा। ट्याब्लेट जति नै उपयुक्त र राम्रो प्रदर्शन क्षमताको भएपनि त्यसको मूल्य खरिद गर्ने क्षमता भन्दा माथि छ भने त्यसले कुनै अर्थ राख्दैन। त्यसैले आफ्नो आवश्यकता अनुसारको हार्डवेयर र प्रदर्शन क्षमताका बारेमा जानिसकेपछि त्यसका लागि उचित लाग्ने मूल्य चुकाउनु पनि पर्छ। बजारमा चिनियाँ ब्राण्डका ट्याब्लेट ७ हजारमा नै पाउन सकिन्छ। भारतीय तथा नेपाली ब्राण्डनेम दिएका ट्याब्लेट पनि १० हजार भित्रै पाउन सकिन्छ। तर याद राख्नुस् सस्तो किन्न खोज्दा गुणस्तर गुमाउनु हुनेछ।
Posted on: Mon, 01 Jul 2013 11:25:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015