यस पल्टको फुटबलको - TopicsExpress



          

यस पल्टको फुटबलको प्रसङ्ग ************** आज जीवनमा पहिलो पटक म पनि खेलको कुरा लेख्तै छु । हाम्रो जमानामा अझ मोफसलमा केटी मान्छेका लागि फुटबल खेलको अवसर थिएन । हामी केटीहरुले खेल्ने भनेको व्याडमिन्टन, टेबुल टेनिस, क्यारामबोर्ड, दौड लङजम्प, हाईजम्प आदिइत्यादि खेलहरु हुन्थे । जे होस फुटबल केटीको खेल थिएन । हाम्रा पालामा क्रिकेटको चल्ति नै थिएन । विराटनगरको महेन्द्र मोरङ कलेजको मैदानमा केटाहरुले फुटबल खेलेको मैले सानैदेखि देख्दै आएको हुँ । तर मेरो शारीरिक बनोट निकै दुब्लो पातलो भएको र केटाहरुले जोरले लात्तले हानेको फुटबलले मलाई लाग्ला भनेर म जहिले पनि फुटबल खेलेको हेर्न पनि डराउँथें । मेरा लागि फुटबल भनेको बलिया मानिसहरुको खेलका रुपमा स्थापित भयो । त्यसैले अरु खेलहरुमा सहभागीता जनाएर पुरस्कृत समेत हुने गरेकी मैले फुटबललाई कहिल्यै मन पनि पराइन । जसले गर्दा मैले मन नपराएको अन्तर्राष्ट्रिय खेल फुटबलका प्रतियोगितामा मेरो खासै रुचि पनि कहिल्यै भएन । त्यसैले प्रत्येक पटकका फुटबलका खेलमा मलाई कुनै चासो नहुनु पनि मेरा लागि अनौठो नै भएन । यस पटकको साफ फुटबलले भने मलाई चासोको चस्को लगाउन पुगेको थियो । यस पटकको प्रतियोगितामा विजय गरेमा नेपाली खेलाडीलाई अपार्टमेन्ट र अाजीवन मासिक दसहजार रुपियाँ भत्ता दिइने छ भनेर पूर्व उद्घोषण गरिनाले पनि नेपाली खेलाडीले जितुन र कमसे कम तोकिएको सुविधा पाउन् भन्ने मेरो पनि चाहना थियो । अर्कातिर हाम्रा नाति अथवा भनौं मेरा पति नरेन्द्रका अनन्य मित्र र भान्जा खड्ग क्षेत्रीका पुत्ररत्न सुनील क्षेत्री भारतीय राष्ट्रिय फुटबल टीमका कप्तान भएको जानकारीले पनि मेरा लागि विरानो भएको फुटबल खेल आफ्नो हुन पुगेको थियो । एकातिर मेरो देशले हारोस् भन्ने म कदापि सोच्न सक्तिनथेँ अर्कातिर मेरा नातिले हारुन् यो पनि मेरो चाहना हुन सक्तैनथ्यो । त्यैले मैले जीवनमा पहिलो पटक चासो राखेको फुटबल खेलले मलाई प्रेमीका र पत्नी दुवैलाई भुतुक्क माया गर्ने पुरुष पात्रको हालत जस्तै द्वन्दात्मक अवस्थामा पुर्याएको थियो । अन्ततः फाइनल खेलमा अफगानिस्तानले बाजी मार्यो । खेलको नतिजा हेरेपछि यस सन्दर्भमा मैले यसरी निष्कर्ष निकालें : १‌‍. मेरो नेपाल हार्दा मलाई व्यक्तिगत रुपले धेरै दुक्ख लागेको छ । खेल हो हारजित त हुन्छ नै ! मेरो देशले तपाईं खेलाडीहरुलाई जति असल वातावरण दिनुपर्ने हो त्यो दिएकै थिएन । त्यति हुँदा हुँदै पनि तपाईं नेपाली खेलाडीहरुले जुन उच्च मनोबलले खेल मैदानमा डटेर खेल्नु भयो त्यसका लागि तपाईंहरुको जति स्तुति गरे पनि थोरै हुन्छ । तपा्ईहरुले खेलको दुनियाँमा आधारभूत खेल वातावरण नपाएका हाम्रा खेलाडीहरुको दक्षता उजागार गराउनु भएको छ । यसका लागि म सम्पूर्ण नेपाली खेलाडीहरुलाई आगामी खेलमा जित्ने शुभकामना दिन्छु । साथै नेपाल सरकारलाई पनि तमासे भएर खेल हेर्ने, जितिहाल्यो भने नाक घोक्र्याउने, हार्यो भने मुन्टो निहुर्याउने मात्र होइन, नेपाली खेलाडीका आधारभूत आवश्यकता पुर्याउने तर्फ सचेत हुन आग्रह गर्छु। २. मित्रराष्ट्र भारतको पराजयसँग समग्रमा मलाई दुक्ख लागेको छैन । किनभने जताततै र जहिले पनि जितिआएको भारतले एक पटक हार्यो त के नै ठूलो कुरो भयो र भन्ने पनि लागेको हो । झन सँधै सबैलाई जितेर सार्क क्षेत्रमै हैकम चलाउँदै आएको भारतले हारेर हार्नुको पीडा पनि बुझ्नु जरुरी थियो । त्यसैले भारतको हारमा दुक्ख लाग्ने कुरा थिएन । तर भारतीय टीमका कप्तान सुनील क्षेत्री भएका कारण भारतको हारमा हाम्रो पारिवारिक हार गाँसिन गयो । नरेन्द्रको र खड्ग भाञ्जाको चालिस वर्षपछि यसपालिको हाम्रो भारत यात्राको क्रमामा दिल्लीमा भेट भएको थियो । सुनील साफगेम खेल्न नेपाल आउँछन् भन्ने कुराले नै हामीलाई साफ फुटबलप्रति आकर्षित पारेको थियो । त्यसैले भारतले खेल हार्दा हामीलाई सुनीलका लागि धेरै दुक्ख लागेको छ । नाति सुनील ! खेलका बारेमा हामीलाई भन्दा तिमीलाई धेरै कुरा ज्ञान छ । हार्नु र जित्नु त यसको परिचय नै हो । यसपटक तिम्रो देशले हार्दा हामी व्यक्तिगत रुपमा धेरै दुखी भएका छौं । आगामी खेलमा विजय तिम्रै होस् । हाम्रो तर्फबाट शुभकामना ! ३ अब जितको कुरा गरौं । यसपालिको साफको बिजेता बनेको अफगानिस्तानले मलाई उत्प्रेरित पारेको छ । ओहो ! वर्षौंवर्ष गृहयुद्धको चपेटामा परेर खरानी बनेको देशका खेलाडीले पनि खेल जिते । अहिले पनि आतंकबादबाट पिडीत देशका वासिन्दाको खेलप्रतिको लगनशीलता ! उनीहरुका वीचको राष्ट्रिय एकता ! उनीहरुका सरकारको खेलाडीप्रतिको उत्प्रेरक एवम् सचेतनापूर्णको व्यवहार ! आहा ! यस्तो पो जित ! यो जीतले संसारभरिका आतंकवादीहरुलाई एउटा गतिलो पाठ घोकाएको छ । हेर तिमीहरुले कुनै पनि देशलाई उसको जीतबाट पछि पार्न सक्ने छैनौ । अर्को कुरा जस्तो सुकै परिस्थितिमा पनि धैर्य नगुमाई निरन्तर लागेमा जीतले अवश्यै पाइला चुम्ने छ भन्ने शिक्षाप्रद समाचार पनि अफगनी जीतले उद्बवोद गराएको छ । वधाई छ अफगानी खेलाडीलाई ! अफगानी सरकारलाई ! अफगानी जनतालाई ! र सम्पूर्ण अफगानिस्तानलाई ! यो जीत अफगानिस्तानको मात्र नभएर आफ्नै देशमा बसेर देश खोजिरहेका पिडीत जनता एवम् विश्वका सम्पूर्ण युद्धका विभिषिका पिडीत देशको पनि हो । पुनः वधाई छ अफगानी खेलाडीलाई ! अनि आफ्नो मुलुकका खेलाडीको अथाहा संरक्षण, माया र सम्मान गर्ने अफगानी सरकारलाई झनै, झनै र झनै बधाई !
Posted on: Thu, 12 Sep 2013 07:58:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015