वैदेशिक रोजगारमा महिला– - TopicsExpress



          

वैदेशिक रोजगारमा महिला– समस्यै समस्या काठमाडौँ, मङ्सिर १२। राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले सरकारले वैदेशिक रोजगारमा जाने महिलाको समस्या समाधान गर्नुको साटो ढाकछोप गरिरहेको बताउनुभएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हिजो महिला आयोग र महिलाको स्थानान्तरण अधिकारसम्बन्धी सञ्जालले संयुक्तरूपमा आयोजना गरेको अन्तर्क्रियामा उहाँले महिला कामदारका समस्यालाई सुल्झाउनुको साटो वैदेशिक रोजगारमा जान ३० वर्ष उमेर हदबन्दी कायम गरी समस्यालाई छोप्ने काम मात्र गरेको आरोप लगाउनुभयो। वैदेशिक रोजगारमा गएका अधिकांश महिला श्रम शोषण, शारीरिक तथा मानसिक शोषणको शिकार बन्ने गरेको बताउँदै यसको न्यूनीकरणका लागि नीतिमा नै परिवर्तन ल्याउनु जरुरी रहेकोमा उहाँले जोड दिनुभयो। अध्यक्ष चाँदताराले नेपाल सरकार अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गर्न मात्र हतरा गर्ने तर आफ्नो मुलुकको सामाजिक परिवेशको अध्ययन नगर्ने बानीका कारण महासन्धि कार्यान्वयन नहुने गरेकाले पहिले नेपाली समाजको अध्ययन गर्नुपर्छ भन्नुभयो। पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारका लागि ३० वर्षको हदबन्दी लगाएकै कारण महिलाहरू भारत हुँदै अवैधानिकरूपमा विदेशिन बाध्य भएको र हिंसामा पर्ने गरेको बताउनुभयो। उहाँले ९९ प्रतिशत वैदेशिक रोजगारमा गएका महिला हिंसामा पर्ने गरेको बताउँदै भन्नुभयो, “महिला वैदेशिक रोजगारीमा गएको अभिलेख समेत नेपालमा छैन। त्यहीकारण उनीहरू राज्यबाट पाउने सेवासुविधा समेतबाट बञ्चित भइरहेका छन् र पीडित महिलाको उद्धार गर्न समेत समस्या भइरहेको छ।” महिला पुनःस्थापना केन्द्र ओरेकका संस्थापक अध्यक्ष डा रेणु राजभण्डारीले कार्यपत्र प्रस्तुत गर्दै महिला भएकै कारण महिलाले विभिन्न प्रकारका विभेदको सामना गर्नु परिरहेको बताउनुभयो।
Posted on: Wed, 27 Nov 2013 20:27:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015