छैठौं गैरआवासीय नेपाली - TopicsExpress



          

छैठौं गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय बैठकका निर्णयहरु inShare 1 २३ जुन २०१३ NRNA छैठौ गैरआवासीय नेपाली संघ यूरोपियन बैठक तथा चौथो यूरोपियन क्षेत्रिय महिला सम्मेलन २०१३ जुन २१ देखी २३ सम्म स्विजरल्याण्डको ज्युरिकमा सम्पन्न भयो । “युरोपमा नेपाली एकता, प्रगति र पहिचान; सामुहिक लगानीमा नयाँ अभियान” भन्ने मुख्य नारा रहेको यस सम्मेलनमा स्विजरल्याण्ड स्थित महामहिम नेपाली राजदुत शंकर दास बैरागी, पूर्व फेडरल चान्सलर (former federal chancellor) तथा वर्तमान स्विस रेडक्रसका अध्यक्ष (president, Swiss Red cross) आनामारी हुबर-होच, स्विजरल्याण्डका पूर्व सांसद डा बारबारा हेईरिङ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछाने, सँस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक राम प्रताप थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँले, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदिप चापागाई, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, उद्योगीहरु राजेन्द्र खेतान र चन्द्रप्रसाद ढकाल, सञ्चारकर्मी तथा संघका सल्लाहकार, पदाधिकारीहरु, सदस्यहरु लगायत २६ देशका 2१८ जना प्रतिनिधिहरुको सहभागिता रहेको बैठकले निम्न निर्णयहरु गर्दछ। १. हालै नेपालको दार्चुला जिल्ला लगायत विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण भएको मानविय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै मृतकका परिवार प्रति यस बैठक हार्दिक समवेदना व्यक्त गर्दछ। यस दैवी प्रकोपबाट पिडित भएकाहरुको राहतका लागि बैठकमा सहभागी राष्टिय समन्वय परिषद तथा प्रतिनिधीहरुबाट करिव ६० लाख रुपयाँ संकलन भएको छ। आर्थिक सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्दै यस राहत संकलन कार्य जारी राख्न अन्य राष्ट्रिय समन्वय परिषदहरु तथा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आव्हान गर्दछौं। २. नयाँ सरकार गठन गरि संविधानसभाको निर्वाचन सम्पन्न गर्न मिति घोषणा भएको अवस्थालाई स्वागत गर्दै सबै पक्षलाई सहभागी गराएर तोकिएकै समयमा स्वतन्त्र र निश्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आव्हान गर्दछौं। संविधानसभाको निर्वाचनमा देश बाहिर बस्ने नेपालीहरुका लागी मतदानको ब्यवस्था गर्न अनुरोध गर्दछौं। अब बन्ने नेपालको संविधानमा एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्थाको सुनिश्चित गर्नका लागी दलका चुनावी घोषणापत्रमा प्रतिवद्दता व्यक्त गर्न सबै राजनैतिक दलहरुलाई यो बैठक आग्रह गर्दछ । ३. नेपालमा १०० मेघावाटसम्मको मध्यमस्तरीय जलविद्युत परियोजना आयोजना गर्ने प्रतिवद्दता अनुसार पहिलो चरणमा २७ मेघावाटको जलविधुत परियोजना शुरु भएको र नेपाल सरकारले प्राथमिकता राखेका क्षेत्रहरुमा यूरोपबाट थप लगानी गर्न यस बैठक प्रतिबद्धता ब्यक्त गर्दछ। नेपालमा उपलव्ध लगानीका अवसरलाई ध्यानमा राख्दै गैरआवासीय नेपाली र नेपालको निजी क्षेत्र विच सहकार्य भएमा लगानी अझ प्रवाहकारी हुने र स्वदेश मै रोजगारीको सृजना भई विदेशीने युवाहरुको ज्ञान सिप र क्षमतालाई राष्ट्र विकासको मुल प्रवाहमा समाहित गर्न सकिने बैठकको ठहर छ। ४. नेपाल सरकारले अगाडि सारेको आर्थिक कुटनितिको अवधारणाको स्वागत गर्दै यसको कार्वान्यनमा नेपाली कुटनितिक नियोगहरुसँग सहकार्य गर्ने यस बैठक प्रतिवद्दता व्यक्त गर्दछ। ५. गैरआवासीय नेपालीहरुको समुन्नतीको लागि आफू रहेको देश वा क्षेत्रहरुमा सामूहिक लगानी गर्ने बैठकमा प्रस्तुत अवधारणालाई स्वागत गर्दै यसको कार्वान्यन गर्न आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गर्दछ। ६. कानूनी कितावखाना बन्द भए पछि नेपाली भाषाका कागजातहरु प्रमाणिकरणमा देखिएको समस्या, नेपाली भाषा बोलै कै आधारमा कुनै आधिकारिक कागजाद बिना नेपाली दुतावासको जानाकारी नभई नेपालमा डिपोर्ट गर्ने, गैरकानूनी रुपमा नेपालीहरुलाई यूरोपमा भित्राएर अलपत्र पार्ने, machine readable passport (MRP) जारी गर्न लामो समय लाग्ने जस्ता समस्याहरु प्रति यस बैठक नेपाल सरकारको ध्यानाकार्षण गराउदछ। ७. संघका राष्ट्रिय सम्वय परिषद र त्यस देशमा स्थित नेपाली दूतावास, अवैतानिक वाणिञ्यदूत, च्याम्वर अफ कमर्स, friendship associations लगायतका संघ सँस्थाहरुसँग सहकार्य गरी गैरआवासीय नेपालीहरुको समस्याको समाधन बारे नेपाल सरकार र सम्वन्धित देशको सरकार दुबैलाई पहल गर्ने यस बैठक निर्णय गर्दछ। ८. नेपालमा बढ्दै गएको महिला हिंसाको प्रति चिन्ता व्यक्त गर्दै पिडित महिलाको सहयोगार्थ एक अक्षयकोषको स्थापना गर्ने निर्णय गर्दछ। समृद्द नेपालको निर्माण गर्नका लागि महिलाहरुको भूमिका अपरिहार्य रहेकोले महिला सशक्तिकरण र हरेक निकायमा अर्थपूर्ण सहभागी हुनु पर्नेमा बैठक जोड गर्दछ। विदेशमा रहेर नेपालको सेवामा जुटेका अग्रज महिलाहरुको यस बैठक सम्मान गर्दै उहाँको योगदानले युवा पिढीलाई प्रोत्साहन गरेको ठहर गर्दछ। ९. खाडी मुलुक लगायत विदेशमा कार्यरत नेपाली महिलाले भोगेका दर्दनाक घटना प्रति सम्वेदनसिल हुदै हिंसा निराकरण गर्न सम्वन्धित देशका राष्ट्रिय समन्वय परिषदलाई चेतना मुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दछौं। १०. भूतपूर्व गोर्खा सैनिकहरुले उठाउदै आएको समान पेन्सन लगायतका मागहरु प्रति पुन ऐक्यवद्दता जाहेर गर्दै यी मागहरु पुरा गर्न बेलायत सरकारलाई अनुरोध गर्दै यसको लागि बेलायत सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई यस बैठक आग्रह गर्दछ। ११. वैदेशिक रोजगारलाई सुरक्षीत, मर्यादित र व्यवस्थित गर्न सरकारी संयन्त्रहरुको परिचानल र अनुगमन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौं। १२. विश्व व्यपार संगठन (World Trade Organization, WTO)को सदस्यको हैसियतले enhanced integrated framework अन्तर्गत नेपालको वैदेशिक व्यापार क्षमता अभिवृद्दी वातावरण तयार गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौं। १३. नेपालमा उत्पादन भएका बस्तुहरुलाई विश्व बजारमा पहिचान र प्रवर्धन गर्न नेपालका व्यपारीक संघ संगठनहरु लाई UNISCAN (Electrochemistry& Corrosion Measurement with Spatial Resolution) को सदस्यता लिई नेपालको आफ्नै बार कोड (bar code) प्रयोग गर्ने अवसर सृजना गर्न आग्रह गर्दछौं। १४. गैरआवासीय नेपाली संघको पहलमा यही जुन २४ का दिन निदर्लयाण्डको हेग स्थित अन्तर्राष्ट्रिय न्यायलयमा गौतम बुद्दको प्रतिमा प्रतिस्थापन गर्न सहयोग गर्ने सबै पक्ष तथा योजनाको संयोजकलाई धन्यबाद व्यक्त गर्दछौं। यस कार्यले गौतमबुद्दको जन्मस्थान लुम्बिनी-नेपाललाई विश्व सामु परिचय गराउन महत्वपूर्ण सहयोग हुने यस बैठक ठहर गर्दछ। १५. आगामी सेम्टेम्वर १४ देखि २२ सम्म बेल्जियममा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय व्यपार प्रदर्शनी (international trade fare) मा नेपाललाई guest of honour हुन मिलेको अवसरलाई सदुपयोग गरी नेपाली सामान र संस्कृतीको प्रदर्शन र प्रवर्धन गर्न नेपालका व्यवसायी सँस्थाहरु र गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दछौं। १६. आगामी अक्टोवर १९ देखि २२ सम्म आयोजना हुन लागेको संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा छैठौं गैरआवासीय नेपाली विश्व सम्मेलन भव्यताका साथ सप्पन्न गर्न यूरोप क्षेत्रबाट पूर्ण सहयोगको प्रतिवद्दता व्यक्त गर्दछौं। हाम्रो परम्परा अनुसार संघको बृहतर हित, एकता र समझदारीलाई उच्च प्राथमिकता दिदै विश्व सम्मेलनलाई मर्यादित र व्यवस्थित गर्न यो बैठक दृढ संकल्प गर्दछ। १७. गैरआवासीय नेपाली संघ दर्ता प्रकृयालाई यथाशिघ्र टुङ्गो लगाउन नेपाल सरकारलाई पुन: अनुरोध गर्दछौं। १८. यस बैठकलाई भव्यता पुर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्ड, स्विस नेपालिज सोसाईटी, स्थानीय नेपाली समुदाय, सौजन्यदाता, सञ्चारकर्मी लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ । १९. सातौ गैरआवासीय नेपाली संघ यूरोपियन बैठक स्पेनको बार्सेलोनामा २०१४ सालमा आयोजना गर्ने निर्णय गर्दछ। धन्यबाद मितिः २३ जुन २०१३
Posted on: Sun, 23 Jun 2013 21:55:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015