न्याय माग्न गएका पीडित - TopicsExpress



          

न्याय माग्न गएका पीडित उल्टै प्रहरी खोरमा नुवाकोट, १३ असार । आफूलाई अपहरण गरेर रकम लुट्नेमाथि कारबाहीको माग गर्दै प्रहरीसमक्ष पुगेका एक जनालाई उल्टै चेलिबेटी बेचबिखनको मुद्धा लगाएर फसाइएको छ । नुवाकोट सुन्दरादेवी–७ काउलेका २८ वर्षीय बीबीलाल तामाङ र उनका भतिजा सोमपर तामाङलाई प्रहरीले चेलीबेटी बेचबिखनको आरोपमा झुठा मुद्दा लगाएको हो । आफूलाई अपहरण गर्ने काँग्रेस कार्यकर्तामाथि किटानी जाहेरी दर्ता गराएका तामाङद्वयलाई नेपाली काँग्रेस नुवाकोटको दबाबमा प्रहरीले झुठा मुद्दा लगाएको हो । उनीहरूमाथि जिल्लाकै उर्लेनी गाविसकी एक १९ वर्षीया किशोरीलाई एक वर्षअघि भारत लगेर बिक्री गरेको आरोप लगाइएको छ । किटानी जाहेरीबारे छलफल गर्न भन्दै बोलाइएका बीबीलाललाई प्रहरीले बिहीबार सदरमुकाम विदुरबाट पक्रेर हिरासतमा राखेको छ । एकीकृत माओवादी सुन्दरादेवी गाउँ कमिटी सचिवसमेत रहेका बीबीलाल र सोमपरलाई घरबाट मोटरसाइकलमा काठमाडौँ हिँडेका बेला गत असार ६ गते काँग्रेस कार्यकर्ता गणेस्थान–६ का नकुल थापामगरसहितको समूहले नर्जाबाट अपहरण गरेको थियो । अपहरणकारीले तामाङद्वयसँग सुरुमा १० लाख रुपैयाँ फिरौती मागेका थिए । तर त्यति धेरै रकम दिन नसक्ने बताएपछि अपहरणकारीले ५० हजार रुपैयाँ नगद र ४ तोला सुन लुटेर उनीहरूलाई सोही दिन साँझ छाडेका थिए । माओवादी नुवाकोटका नेता पुष्प लामिछानेले अपहरणको मुद्दालाई अन्यत्र मोडेर राजनीतिक रुप दिन आफ्ना कार्यकर्तामाथि झुठा मुद्दा लगाइएको बताउनुभयो । बीबीलालले आफूलाई अपरहण गर्ने कार्यमा संलग्न गणेस्थान–५ का हरि थापामगर, गणेस्थान–४ का किशोर थापामगर र ईश्वर थापामगर, चौघडा–८ का रामकुमार राई र नेपाली सनाको भैरवनाथ गणमा कार्यरत उर्लेनी–१ का पाल्साङ मोक्तान तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार किटानी जाहेरी दर्ता गराएका थिए । उनीहरूलाई अझै पक्राउ गरिएको छैन । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको एक समूहले किटानी जाहेरी दर्ता गरिएका आफ्ना कार्यकर्ता पक्राउ नगर्न दबाब दिँदै दुई दिनअघि जिल्ला प्रहरी कार्यालय अगाडि नारबाजी र प्रदर्शन गरेको थियो । उनीहरुले प्रहरी पंमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत अपराधी नपक्रन कार्यकक्षमै गएर धम्क्याएको लामिछानेले बताउनुभयो । अपहरणजस्तो अक्षम्य अपराधिक घटनालाई पूर्वाग्रही ढंगले राजनीतिकरण गरेर आफ्ना निर्दोष कार्यकर्ता फसाउन खोजिएको भन्दै माओवादीले आपत्ति जनाएको छ । उसले अपहरण र बेचबिखन दुवै घटनाबारे सत्यतथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ ।
Posted on: Fri, 28 Jun 2013 01:52:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015